पौष २१, काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३ औं पृथ्वी जयन्तीका अवसरमा दरबारमार्ग स्थित महेन्द्र शालिक देखि सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकसम्म एकता र्याली गर्ने भएको छ । पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन धुमधामसँग दिवस मनाउने र र्याली निकाल्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।


राप्रपाले निकाल्ने उक्त र्यालीमा अध्यक्ष राजेन्द्र लिङ्देन देखि पूर्व अध्यक्षहरु पशुपति शमसेर जबरा र डा.प्रकाशचन्द्र लोहनी सहित अन्य शीर्षस्थ नेताहरु सहभागी हुनेछन् । राप्रपाले सोही दिन काठमाडौंमा चियापान समारोहको आयोजना पनि गर्ने भएको छ । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधाम सँग मनाउदै आएको छ । पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषदले पुस २५ गते काठमाण्डौंमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठीको आयोजना गरेको छ।












