पौष १५, झापा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन ।


अध्यक्ष दाहालले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेको र नक्कली भूटानी शरणार्थी प्रकरणममा बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए । उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको गुनासो गरे ।अध्यक्ष दाहालले गिरिबन्धु टि स्टेटमा प्रधानमन्त्री ओलीले बद्मासी गरेको आरोप लगाउँदै बद्मासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरे । प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको दाहालले धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिवद्धता जनाउँदै संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई मात्र रहेको बताएका छन ।











