पौष १४, काठमाडौ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले सहकारी ठगीमा संलग्न भएका जोसुकै माथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन् । ह शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पत्रकार ऋषि धमलासँग संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई मात्र थुनेर सहकारी समस्या समाधान नहुने बताएका हुन् ।


सहकारीमा अपचलन भएको खर्बौं रुपैयाँको छानविनका लागि अब न्यायिक समिति नै आवश्यक पर्ने उनले धारणा राखे। सम्पत्ति शुद्धीकरणको विषय रवि लामिछानेलाई मात्रै नभएर अकुत सम्पत्ति कमाएका व्यापारी, सबै दलका नेता, कर्मचारीहरुको छानविन हुनुपर्ने उनले बताए । न्यायिक समिति गठन गरेर अकुत सम्पत्ति आर्जन गर्ने र सहकारी ठगी गर्नेमाथि छानविन गर्न उनले माग गरे । नेता भण्डारीले आरोपितको राहदानी पहिला नै रोक्का राख्नुपर्ने बताए ।

‘अहिले हाम्रो समाजमा दुई वटा मुद्दा उठेका छन् । एउटा सहकारी, जसको एक खर्बभन्दा बढी हिनामिना भएको छ । अहिले रविजीलाई ३ करोड ३७ लाख बराबरको सहकारीको बिगो लागेको छ । अब ३ करोड ३७ लाखभन्दा अर्बौंमा को–को परे त ? यसको छानविन गर्नुपर्यो । यसको छानविनको निम्ति के गर्ने ? एउटा व्यक्तिमात्रै थुनेर पुग्छ कि अब जनताको पैसा फिर्ता गर्ने ? हामी जनताको पैसा फिर्ता गर्न त पर्ला नि राज्यले? दोस्रो सम्पत्ति शुद्धीकरण , अहिले रविजीको ५० करोडभन्दा मुनिको सम्पत्ति शुद्धीकरणको कुरा आइरहेको छ । अब यो देशमा अर्बौं खाने व्यक्तिहरु छन् । खुसीको कुरा नेपाली जनतामा के भन्नुहुन्छ भने अब सहकारीको मुद्दाको सुरुवात पनि रविबाट, सम्पत्ति शुद्धीकरणको मुद्दा पनि रविबाट भएपछि अब सबैको सम्पत्ति छानविन गर्नुपर्छ । सहकारीको पैसा पनि जनताले प्राप्त गर्नुपर्छ । देश लुट्नेहरुको पनि सम्पत्ति छानविन गर्नुपर्छ उनले भने ।











