एचटीएएस राजधानी दमास्कस प्रवेश गरेको केहीक्षणमा नै सिरियाका राष्ट्रपति बसर अल–असदले देश छोडेर भागेको दाबी विद्रोही समूहले गरेको भएपनि असद कहाँ गए भन्ने कसैले भन्न सकेको छैन । समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको जनाएको छ ।

विद्रोहीहरूले सैदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरेको बताएका छन् । यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो । इरान समर्थित हिजबुल्लाहले केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ । इरान र हिजबुल्लाहले राष्ट्रपति असदलाई सहयोग र समर्थन गर्दै आएका थिए । रुसको साथ पनि राष्ट्रपति असदलाई थियो । सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरेपछि विद्रोही समूह एचटीएएस शनिबार राति राजधानी दमास्कस प्रवेश गरेका थिए । 













