विश्व शक्ति राष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुँदैछ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला प्रतिस्पर्धाको मैदानमा छन । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । विभिन्न सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ । ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको बताइएको छ ।


अमेरिकी राष्ट्रपतिमा विजयी हुन देशभरको समग्र मत बढी ल्याएर मात्र पुग्दैन । अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित भएकाले कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ । सन् २०१६ मा देशभरिबाट पाएको मत हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम भएको अवस्थामा पनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् २००० मा राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन दलका जर्ज डब्लु बुसले डेमोक्रेटिक उम्मेदवार अल गोरको भन्दा पाँच लाख कम मत पाएका थिए । यतिबेला ह्यारिस पहिलो महिला राष्ट्रपति बनेर ईतिहास रच्ने दाउमा छिन भने ट्रम्प पुरानो बिरासत फर्काउन लागि परेका छन ।

राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० मत ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।












