कार्तिक १२, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आईतबार एक कार्यक्रम लाई सम्बोधन गर्दै उनी विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए ।
राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले प्रचण्ड र लामिछानेलाई निशाना बनाएका हुन । माओवादीले शनिबार काठमाडौमा आयोजना गरेको खबरदारी सभा लाई इंकित गर्दै ओलीले भने, हिजो मात्रै एकजना उफ्रिउफ्री कराउँदै थे । हामीले हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन भनेर । उनीहरुले हतियार बिसाएको छैन, त्यो साँचो हो । बेइमानी गर्या छ तर तिनीहरुका हतियारमा खाक्सी नलागेको धेरै भइसक्यो । पुछपाछ नगरेको धेरै भइसक्यो । माटामुनि राखेको हतियार निकालेर चलाउन खोज्दा पड्किदैन । त्यो उनीहरुले बुझे हुन्छ । प्रचण्डले खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा हतियार छालाउन बिर्सेको छैन भनेर बोलेको प्रति ओलीले जवाफ फर्काएका हुन ।
अहिले पनि हतियारको धम्की दिने ? ४-५ हजार मान्छे हुन्छन् निकालौं हतियार ? पड्काइदिउँ ? भनेर धम्काउँछन् । कसलाई धम्काएको ? कसलाई सुनाएको ? नेपाली समाजलाई होइन ? यस्ता प्रवृत्ति छन् । कसैले किस्तिमा सजाएर दिएको डेमोक्रेसी होइन ।

बलिदान र संघर्षबाट प्राप्त गरेको हो । ज्यान दिएर, जेलनेल गरेर, भूमिगत भएर प्राप्त गरेको हो । म भन्न चाहन्छु, दुई–चार अराजक तत्वहरु सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन, हुन दिइने छैन । जरुरी पर्दा राजनीति के हो, देशका लागि राजनीति कस्तो हुनुपर्छ र राजनीतिलाई कसरी बचाउनुपर्छ बुझेका छौं । हामी हतियार चलाउन बिर्सेका छैनौं भन्दैमा आत्तिनुपर्ने अवस्था छैन । झूटो बोल्नेमा एकजना, दुईजना होइन, एउटा गिरोह नै छ ।

म कसैको नाम लिन चाहन्न, तपाईंहरुले देखिरहनु भएको छ । हामी देखिरहेका छौं । यस्ता प्रवृत्तिहरु बंगलादेशमा अलिकति के भाको थियो, नेपालमा बंगलादेश बनाइदिन्छौं भन्नेहरु पनि निस्किए । रास्वपा प्रति निकै आक्रामक देखिएका ओलीले अदालतअगाडि गएर उफ्रिएको छ, दवाव दिएको छ, कराएको छ यो के तरिका हो भन्दै प्रश्न गरे । हाम्रो मान्छे छोड्दे भन्ने एउटा कुरा हुन्छ, अरुलाई तथानाम गाली गरेको छ, असभ्यता देखाएको छ । साह्रै घिनलाग्दो स्तरमा झरेको छ । त्यस्तोमा कोही फेरि माननीय सांसद भनिएकाहरु छन् । कोही चुनेका, कोही टिपेका, विभिन्न खालका । भेट्दा माननीय भन्नुपर्छ, बोलि सुन्दाखेरी अचम्म लाग्छ । यो उनको रास्वपाले गरेको पोखरा आन्दोलन प्रति इंकित टिप्पणी हो । 











