कात्तिक ९ , सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा ) साताव्यापी कार्यक्रमका साथ कर्णाली प्रदेशमा निस्किएको छ । कर्णालीबासीका कुरा सुन्ने र आफ्ना कुरा भन्ने भन्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा उपाध्यक्ष रबिन्द्र मिश्र , महामन्त्री कुन्ती शाही , प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका केन्द्रीय नेताहरु पार्टीको कर्णाली यात्रामा निस्किएका हुन । पार्टीको स्थानीय संरचनालाई चलाएमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासंग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रामा निस्किएको पार्टी अध्यक्ष लिङ्देनले बताए ।

वर्तमान परिवेशमा फरक मत राख्दै आएको राप्रपाले संविधानमा उल्लेखित गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताका सवालमा आफ्नो असन्तुष्टि निरन्तर रहेको बताउदै आएको छ । सल्यानको सल्ली बजारमा आयोजित सभालाइ राप्रपा अध्यक्ष लगायतका नेताहरूले सम्बोधन गरेका छन ।

राप्रपाले पार्टीका एजेण्डाहरु स्थापित गर्न अब के गर्छ भन्ने आमचासोका बिच , राप्रपा भित्र सडक संघर्ष कि आगामी निर्वाचनको तयारी भन्ने बिषयमा चर्को मतभेद देखिएकै समयमा जनताको राय सल्लाहको रुपमा यो यात्रा फलदायी हुने र आगामी रणनीति तयार गरिने पार्टी नेताहरुले बताएका छन ।

सत्तासिन कॉग्रेस र एमालेका नेताहरू सहकारी ठगी र भ्रष्ट क्रियाकलापमा मुछिइरहेको समयमा नयाँ र बैकल्पिक पार्टीको रुपमा उदाएको रास्वपा पनि त्यहीँ मार्गमा अघि बढ्दै पार्टी सभापति रबि लामिछाने पक्राउ परेपछि आफ्ना नेताको पक्षमा पोखरामा  नाराजुलुस गरि रहेको रास्वपाका नेताकार्यकर्ता लाई राप्रपाले छानबिन लाइ सघाउन सहयोग गर्नुपर्ने बताएको छ ।

भर्खरै गएको  बाढी पहिरो पिडितको समयमै उद्धार नभएको मात्र होइन, गत वर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पिडितहरूले समेत अहिलेसम्म पनि राज्यबाट उचित राहत नपाएको अवस्थामा राप्रपाले कर्णाली प्रदेशको स्थलगत अवलोकन पछि काठमाडौमा कर्णालीबासीका कुरा सुनाउने बताएको छ ।

६ गते सल्यानको सल्लीबजार बाट कर्णाली यात्राको सुरुवात गरेको राप्रपाले ११ गते गमगढी मुगुमा पुगेर यात्राको समापन गरिने जनाएको छ । कर्णालीबासीको न्यानो स्वागत र माया पाएको बताएको राप्रपाले शुक्रबार जुम्लामा आमसभा गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय