असोज ११, काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन । समिति सभापतिहरूकै कार्यकक्षमा पुगेर उनले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने अप्ठ्यारा लगायतका विषयमा जानकारी लिएका हुन ।


अध्यक्ष दाहालसँगै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा. सुरेन्द्र अर्याल लगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहाल, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेको हो ।

सो अवसरमा अध्यक्ष दाहालले समितिका काम कारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गरे । समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

भेटमा समितिका सभापतिहरूले समिति सञ्चालनका क्रममा कतिपय प्राविधिक तथा व्यवस्थापकीय समस्या चुनौतीका रूपमा आउने गरेको अनुभव सुनाए ।












