असोज ११, काठमाडौ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग भावी योजना, रणनीति, प्रशिक्षण र अन्य समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् । सो अवसरमा सदस्यसचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्न सुझाव समेत दिए ।


साथै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्ष गर्नु पर्नेमा पनि उनले जोड दिए । सदस्य सचिव घिसिङले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउँदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए ।

उनले वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको जानकारी दिए । सदस्यसचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा महिनाको एक पटक बैठक समेत राख्ने बताए । सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ-आफ्नो खेलको अवस्थाबारे जानकारी गराउँदै वर्तमान समस्या बारे अवगत गराएका थिए ।












