नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले वीपीको छोरा भएकै कारण चुनावहरू जित्न सजिलो भएको दाबी गरेका छन्।
सोमबार नेपाली कांग्रेस बागमती प्रदेशले वीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा वीपी, व्यक्ति एकः विचार अनेक’ विषयक विचार प्रवाह कार्यक्रममा उनले वीपीको छोराहुँदा सबै कुरामा उत्कृष्ट हुन धेरै कठिन भएता पनि छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि आएको दाबी गरे।


उनले भने, सबै कुरामा उत्कृष्ट हुन धेरै गाह्रो छ। कहिलेकाही मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थे होला। तर, म आफूलाई पूरै जकडिएको अनुभव गर्छु। यो गर्नु हुँदैन, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ। तर, यसमा एउटा रमाइलो पक्ष पनि छ बीपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन्। कति सजिलै चुनाव पनि जित्छु। केही गर्नै पर्दैन । ‘पाँच चोटि त चुनाव जितेँ। त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ। अब त्यो त भविष्यले भन्छ,’ उनले भने।

उनले बीपीले ठूलो होइन असल मान्छे बन्नुपर्छ भन्ने गरेकाले असल बन्न पनि धेरै कठिन हुने गरेको अनुभव सुनाए। बीपी व्यक्ति भन्दा पनि विचार भएको उल्लेख गर्दै उनले जीवनभर बीपीले संघर्ष गरेको कुरा जानकारी गराए।











