भाद्र १८,२०८१ काठमाडौ ।

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको सुविधासम्पन्न विमान कब्जा गरेर लगेको छ । अमेरिकी अधिकारीहरूले यो विमान फर्जी तरिकाले किनेको तथा तस्करी गरेर अमेरिकाबाट बाहिर लगेको आरोप लगाएका छन् । मादुरोको लग्जरी जेट डसल्ट फाल्कन ९०० ईएक्स क्यारेबियन सागरमा रहेको ल्याटिन अमेरिकी राष्ट्र डोनिनिकन रिपब्लिकबाट कब्जा गरिएको हो ।

यो विमानको मूल्य १३ मिलियन डलर पर्छ । अमेरिकी अधिकारीहरूले सन् २०२२ को अन्त्य र २०२३ को सुरुवातमा मादुरोसँग जोडिएका व्यक्तिहरूले आफ्नो पहिचान लुकाएर जेट किनेको बताएका छन् । एउटा क्यारेबियाई कम्पनीको प्रयोग गरेर उनीहरूले सन् २०२३ मा विमान किनेर लगेका थिए । अमेरिका र भेनेजुएलाबीच व्यापार तथा लेनदेनमा प्रतिबन्ध छ । रिपोर्टअनुसार मादुरोको विमान सन मारिनोमा दर्ता थियो ।

भेनेजुएलाका विदेशमन्त्रीले केही पटक विदेश भ्रमणमा यो विमान प्रयोग गरेका थिए । यो निजी जेट पहिले अमेरिकामा दर्ता थियो र यसको स्वामित्व फ्लोरिडाको सिक्स जी एभिएसनसँग थियो । यो प्रयोग भएका विमान किनबेच गर्ने ब्रोकर कम्पनी हो ।

यो विमान खरिद गर्न सेन्ट भिन्सेन्टको ठेगाना बनाएर सन मारिनोमा दर्ता गरी भेनेजुएला पठाइएको थियो । अमेरिकाले सो कुरा जानकारी पाएपछि सन् २०२३ मा दर्ता रद्द गरिदिएको थियो । भेनेजुएला सरकारले यो कदमलाई डकैतीको संज्ञा दिँदै राष्ट्रपतिले प्रयोग गर्ने विमान कब्जा गरेर अर्को अपराध गरेको बताएको छ । भेनेजुएला र अमेरिकाबीच दशकौँदेखि राजनीतिक मतभेद रहँदै आएको छ । भेनेजुएला अमेरिकालाई पुँजीवादी भन्दै उसको विदेश नीतिको आलोचना गर्दै आएको छ भने अमेरिकाले भेनेजुएलामा मानवअधिकार उल्लंघन हुँदै आएको आरोप लगाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय