भगवान श्रीकृष्ण, द्वापरयुगमा हिन्दु पञ्चांगअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरात अर्थात् आजकै दिन मामा कंशको कैदमा रहेका पिता बसुदेव र माता देवकीको गर्भबाट यस धर्तीमा जन्म लिएका थिए । त्यसैले आजको रात्री लाई ‘मोह रात्रि’ पनि भनिन्छ। श्रीकृष्ण लाई बासुदेव, गोविन्द, कान्हा, कन्हैया, काले, मुरली मनोहर, श्यामसुन्दर आदि नामबाट पुकारिन्छ। उनका कथा र घटनाहरू वृन्दावन, मथुरा, यमुना र भूलोकमा चर्चित छन्।


भगवान् विष्णुको आठौं अवतारको रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ। यस दिन हिन्दु धर्मावलम्बीले मनाउने वार्षिक पर्व हो, श्रीकृष्ण जन्माष्टमी। उनीहरूले श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउने गर्छन्। श्रीकृष्ण जन्माअष्टमीको दिन नेपालभरका श्रीकृष्ण मन्दिरहरूमा भक्तजनको निकै ठूलो घुइँचो लाग्ने गर्छ। आज ललितपुरको पाटनकृष्ण मन्दिरमा राष्ट्रप्रमुखले पुजाअर्चना गर्ने चलन छ । आजको रात जाग्राम बसेर उनै श्रीकृष्णको आराधना गरिन्छ।

बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पार्न सक्ने उनै श्रीकृष्ण मुस्कानमा हर्ष, मनको सौन्दर्यता र सौम्यताको अद्भुत शक्ति कृष्णमा छ। उनको शिरमा मयूरको प्वाँख, गलामा सुगन्धित माला हुन्छ। यी सबैसँगै बिजुली चम्कँदा झैं चम्किलो देखिन्छन् उनी। ‘कर्म गर तर फलको आशा नगर’ भन्ने भाव गीतामा छ।

काम कहिल्यै पनि ठूलो–सानो हुँदैन भनेर अनेकानेक त्यस्ता कार्यप्रति समानताको भाव कृष्णबाट सिक्न सकिन्छ। कर्म र फलबीचको सम्बन्धको व्याख्या प्रेरणाको रूपमा उदाहरणसहित श्रीकृष्णले भनेका थिए, ‘व्यर्थ चिन्ता नलिनु ’ श्रीकृष्णले धर्मको संरक्षण र हितका लागि हरेक युगमा जन्म लिने बताएका थिए ।












