भाद्र ७, तनहुँ ।
भैरहवा, पोखरा तनहुँ हुँदै पशुपतिनाथको यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस पृथ्वी राजामार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऎनाझरनास्थित मस्र्याङ्दी नदिमा शुक्रबार भएको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।


भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको हो । चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो । नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजनाअनुरुप यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बुझिएको छ ।

घाइतेको उद्वार गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : नेपाली सेना/रासस
शुक्रवार बिहानै पशुपतिनाथ दर्शन गर्न काठमाडौं लागेका उनिहरु दु:खद दुर्घटनामा परे। भारतको इलाहवादका प्रशान्त भंगाडे भन्छन्, ‘चार धामको तीर्थयात्रा गरियो, त्यसपछि नेपालका धार्मिकस्थल घुमेर फर्किने योजना बनाइयो । तर सबैजना हुन त पाएनौं, आँखामा टिलपिल आँसु लिएर फर्किनुपर्ने भयो ।’ भारतको महाराष्ट्रदेखि इलाहबाद हुँदै सँगै तीर्थ यात्रा र नेपालको भ्रमण गरेर रोमाञ्चित भएर फर्किने योजनासहित दुई गाडीमा पोखराबाट काठमाडौं लागेका उनीहरु चढेको एउटा गाडी आँबुखैरेनी त्रिशुली नजिकै मस्र्याङ्दीमा खसेको हो ।
गाडीमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये धेरैको अवस्था चिन्ताजनक छ । २७ जनाले ज्यानै गुमाएका छन् । आँबुखैरेनी–२ को ऐनापहाराभन्दा १ सय मिटर वरको घुम्ति कट्नेबित्तिकै सिधा बाटो आउनेबेलामै सडक सुरक्षाका लागि क्र्यास व्यारिएर भत्काउँदै मर्स्याङ्दीमा खसेको हो ।
गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सबाट यात्री र चालक, सहचालकसहित नेपाल छिरेका उनीहरु सबै सँगै घर फर्किन त पाएनन्, बाँचेकाहरुलाई पनि जीवनभर नमेटिने घाउ लागेको छ । अहिले शवलाई आँबुखैरेनी अस्पतालमै पाल ओछ्याएर राखिएको छ । अर्को गाडीमा रहेका आफन्त कोही अस्पताल त कोही बाहिर आलापबिलाप गरिरहेका छन् । दुर्घटना लगतै उद्धार सुरु गरिएको थियो । त्यसमध्ये पनि बाँच्न सक्ने आशमा १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत २ खेप लगाएर उपचारका लागि काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘भारतीय पर्यटक चढेको गाडी मर्स्याङ्दीमा खसेको खबरले बिहानैदेखि विक्षिप्त त बनाएकै थियो, तर यति ठूलो क्षति होला भन्ने थिएन,’ तनहुँका सिडिओ गौतमले भने, ‘दिनभर लगाएर सबैको उद्धार त गर्यौं तर २७ जनालाई बचाउन सकेनौं ।’
पछिल्लो समय पोखरामात्रै होइन, नेपालकै पर्यटन क्षेत्रमा ठूलो योगदान भारतीय पर्यटकले दिइरहेका छन् । आफ्नै गाडी लिएर नेपाल आउने क्रम बढिरहेका बेला भएको घटनाले नेपाललाई ठूलो आर्थिक क्षति पुग्ने देखिएको र भारतलाई यो घटनाले विक्षिप्त बनाएको उनको भनाइ थियो । दुर्घटनाको खबरसँगै भारतीय दूताबासले पनि चासो देखाउँदै घटनास्थलमै उपस्थित भएर समन्वयमा रहेको उनले बताए । घाइते र मृतकलाई आँबुखैरेनी अस्पताल लगिएको थियो । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि शिक्षण अस्पताल पठाइएको छ ।

मृत्यु हुनेहरुको शव पोस्टमार्टमका र पहिचान भरतपुर अस्पताल बाट गर्ने तयारी भएको छ । लैजाने भन्ने लामो समय निर्णय हुन सकेको थिए । भारतीय कन्सुरल कार्यालय समेत रहेकाले पोखरामा पोस्टमार्टम गरेर शव आफन्त तथा परिवारलाई बुझाउने भनिएपनि नजिक पनि भएकाले भरतपुर लैजाने निर्णय भएको तनहुँका सिडिओ गौतमले जानकारी दिए । भरतपुरमा शनिबार पोस्टमार्टम गरेर शव बुझाउने तयारी भएको उनले बताए ।











