messenger sharing button
whatsapp sharing button
linkedin sharing button
श्रावण २९ , २०८१ काठमाडौं।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी छिन् । हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिएका कारण आफूलाई विस्थापित गरिएको बताइन् ।

उनले सेन्ट मार्टिन टापु दिएको भए अमेरिका बङ्गालको खाडीमा आफ्नो प्रभुत्व कायम गर्न सक्षम हुने थियो । अमेरिकाको दबाबका बावजूद आफुले जनता र देशको हितमा सोचेको भन्दै बंगलादेशका नागरिकहरु लाई कट्टरपन्थीको भ्रममा नपर्न आग्रह गरेकी छिन् । शेख हसिना हाल भारतको शरणमा छिन्।

इकोनोमिक्स टाइम्समा आफ्ना नजिकका सहयोगीहरूमार्फत पठाइएको सन्देशमा हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्नु नपरोस् भनेर राजीनामा दिएँ। उनीहरू विद्यार्थीको शवमाथि चढेर सत्तामा आउन चाहन्थे तर मैले त्यसो हुन नदिन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ । यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई समर्पण गरी बंगालको खाडीमा उसको प्रभुत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थें। म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस्।’

इकोनोमिक टाइम्सले आफ्नो रिपोर्टमा शेख हसिनालाई उद्धृत गर्दै भन्यो, ‘यदि म देशमा बसेको भए, धेरैले ज्यान गुमाउने थिए र थप स्रोत र सार्वजनिक सम्पत्ति क्षतिग्रस्त हुने थियो। मैले देश छोड्ने धेरै कठिन निर्णय लिएँ। म तपाइँको नेता भएँ किनकी तपाइँहरूले मलाई चुन्नुभयो ।’

उनले अगाडि भनिन् ‘मेरो पार्टी अवामी लिगका कयौं नेता मारिएका छन्, कार्यकर्तालाई उत्पीडन भइरहेको छ, घरमा तोडफोड र आगजनी भइरहेको छ भन्ने खबर पाएपछि मेरो मन रोएको छ । अल्लाहको कृपाले म चाँडै फर्कनेछु। अवामी लिगले चुनौतीको सामना गरेर बारम्बार उठेको छ । म सँधै बंगलादेशको भविष्यको लागि प्रार्थना गर्नेछु, जुन महान राष्ट्र बनाउन मेरो बुबाले सपना देख्नुभयो र प्रयास गर्नुभयो। जुन देशको लागि मेरो बुबा र परिवारले आफ्नो ज्यान दिनुभयो ।’

हसिना ५ अगस्टको साँझ बंगलादेशबाट भागेर भारतमा शरण लिनु परेको थियो । आरक्षण विरोधी आन्दोलन अघि हसिनाले अप्रिलमा संसदमा अमेरिकाले आफ्नो देशमा सत्ता परिवर्तनको रणनीतिमा काम गरिरहेको बताएकी थिइन् ।

शेख हसिनाले भनेकी थिइन्, ‘उनीहरूले लोकतन्त्रलाई ध्वस्त पार्ने र लोकतान्त्रिक अस्तित्व नभएको सरकार ल्याउन खोजिरहेका छन्।’ सरकारी जागिरमा आरक्षणको विरोध गर्दा कथित रूपमा हड्ताल गर्ने दंगा गर्नेहरू वास्तवमा बंगलादेशमा ‘शासन परिवर्तन’ योजना गरिरहेका विदेशी शक्तिहरूको हातबाट परिचालित भएको उनको दाबी छ।

हसिनाका नजिकका अवामी लिगका केही नेताहरूले पनि ढाकामा सत्ता परिवर्तनका लागि अमेरिकालाई जिम्मेवार ठानेका छन् । मे महिनामा ढाकाको भ्रमण गरेका एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञ यसको पछाडि रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय