आज नागपन्चमी , प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने यो पर्वमा नागको पुजाआराधना गर्ने परम्परा रहदै आएको छ।


नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका बिषालु जीवले दुःख नदिने जनविश्वास रहि आउनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने जनविश्वास रहेको छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आज काठमाडौको नागपोखरी , टौदह , सिद्धपोखरी लगायत स्थानमा नागको पुजा गर्न श्रद्धालुहरुको भिड लाग्ने गरेको छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।











