काठमाडौं ।

नेपाल राष्ट्रबैंकका गर्भनर महाप्रसाद अधिकारिले पाँच वर्षअघि आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत  कोभिड–१९ बाट अर्थतन्त्रलाई उकास्न अत्यन्तै उदारता देखाएर नीति ल्याएका थिए । शुक्रबार गभर्नर अधिकारीले सबै क्षेत्रको अपेक्षा सम्बोधन गर्ने गरी ल्याएको आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिले पनि त्यस्तै झल्को दिएको छ । पछिल्लो दुई वर्षयता मुर्झाएको अर्थतन्त्रलाई मौद्रिक नीति मार्फत गभर्नरले आशा जगाउने प्रयास गरेका छन् ।


सुुरुका दुई वर्ष अधिक लचिलो र त्यसपछि एक्कासि कसिलो मौद्रिक नीति ल्याउँदा उनले चौतर्फी आलोचना खेपेका थिए । तर, पछिल्ला दिनमा अर्थतन्त्रका सूचकहरूले समेत साथ दिएपछि गभर्नर अधिकारीलाई अन्तिममा आएर आफ्नै लय समात्न सजिलो भयो ।

मूल्य र वाह्य क्षेत्रसँग सम्बन्धित सूचकहरू सकारात्मक बनेपछि उनलाई भर्खरै गठन भएको आफूअनुकूल सरकारसँग ‘ट्युनिङ’ मिलाउन मात्रै सजिलो भएको छैन, अन्य आर्थिक ‘एक्टर’ को विश्वास जित्न पनि सफलता प्राप्त भएको छ ।

कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानका लागि उनले ठूलो मात्रामा पैसा छापेर अधिक तरलता प्रवाह गरे, जसका कारण ब्याजदर सस्तो भई कर्जा प्रवाहले आकाश छोएको थियो । त्यसरी बाँडेको पैसा सेयर र घरजग्गामा जाँदा सम्पत्तिको मूल्य अस्वाभाविक वृद्धि भई त्यसले अर्थतन्त्रमा नै नकारात्मक अवस्था सिर्जना गर्‍यो तर कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउँदा भने गभर्नर अधिकारीमा धेरै परिपक्वता महसुस गर्न सकिन्छ । शिथिल अर्थतन्त्र चलायमान बनाउनुपर्ने माग चौतर्फी भएपनि उनले सुरुमा जस्तो पुनर्कर्जाको औजार प्रयोग गरेनन् ।

बरु, सरकारले भुक्तानी नदिँदा समस्या भोगेका निर्माण व्यवसायीको समस्या सम्बोधन गर्न उनले अन्य नियामकीय उपकरण प्रयोग गरे । उनले गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम त्रैमासमा माइनसमा गएको निर्माण क्षेत्रको पुनरुत्थानका लागि साँवाब्याज भुक्तानीको म्याद मंसिरसम्म सारे पनि अन्य क्षेत्रका व्यवसायीलाई कर्जा तिर्ने समय सार्न तयार भएनन् । यसपटक मौद्रिक नीतिलाई अर्थतन्त्रको मनोबल उकास्ने किसिमको बनाउन अर्थमन्त्रीको मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चासो थियो ।

गभर्नर अधिकारीले राजनीतिक नेतृत्वको चासोलाई आफ्नो सीमाभित्र रहेर सम्बोधन गरिदिएका छन् । गभर्नर अधिकारीले ल्याएको अन्तिम मौद्रिक नीतिले अर्थतन्त्रको समस्या समाधान गर्ने र शिथिल अर्थतन्त्र चलायमान बनाउन कत्तिको योगदान गर्ला समयले बताउला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय