दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ । हाल संसदमा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल हो । यी दुवै दल मिल्दा १६६ सांसदको समर्थनसहित बलियो सरकार गठन हुन्छ । यो भनेको दुईतिहाइ बहुमतका लागि आवश्यक संख्या (१७४) भन्दा थोरै मात्र कम हो ।


कांग्रेस–एमाले सरकारमा अन्य साना दलहरू मिसिएमा सहजै दुईतिहाइ पुग्न सक्छ । दुईतिहाइको सरकार बनेमा आवश्यक पर्दा संविधान संशोधन गर्न सक्ने सम्मको शक्तिशाली हुनेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको देउवाले जानकारी गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनले भने, शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक हो तर उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्ष उन्मुख रहेको उच्च स्रोतको दाबी छ । दुई दलबीच पावर सेयरिङ लाई लिएर घनिभूत कुराकानीहरू भइरहे पनि अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ । बैठकहरुमा पनि दुवै पार्टीका सीमित नेतामात्रै सहभागी छन।
कांग्रेस र एमाले मिल्न लागेपछि आत्तिएको बालुवाटारले हिजो कांग्रेसलाई अर्को काउन्टर प्रस्ताव गरेको थियो । स्रोतका अनुसार कांग्रेस, माओवादी र रास्वपासहितको अर्को समीकरणको प्रस्ताव बालुवाटारबाट गए पनि कांग्रेस यसमा सकारात्मक भएन ।

संसदको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो । आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव कांग्रेसले एमाले सग गरी सकेको बुझिएको छ ।
शनिबार ओलीले देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए ।
कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बन्दै गएको छ । कांग्रेसको यो प्रस्तावपछि आज पनि प्रधानमन्त्री प्रचण्ड र ओलीले वान टू वान तीन घण्टा लामो छलफल गरेका थिए । आइतबार पनि ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । प्रधानमन्त्री दाहालको धोकाका शिकार भएका दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बने माओवादी पानि बिनाको माछा हुने राजनितीक विश्लेषकहरुले बताउन थालेका छन ।











