सरकारले बजेट विनियोजन गर्दा दार्चुलालाई बजेट नपठाएको विरोधमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सदनको रोष्ट्रममै एक मिनेट मौनधारण गरेका छन् । उनले आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँमा जान भारतबाट जानुपर्ने अवस्था रहेको भएपनि यस्तो अवस्थाको निराकरण गर्न बजेट नहालेको सुनाए ।
सांसद बडूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जोडिएको क्षेत्रमा बजेट नराखेकोप्रति आपत्ति समेत जनाए ।

चुच्चे नक्सा बनाउँदा सबैको सहमति भए पनि त्यहाँ सडक निर्माणमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीले बेवास्ता गरेको आरोप लगाए ।
उनले भने, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती एउटै पार्टीको हुनुहुन्छ । दुवै एउटै पार्टीको हुँदा सहज हुन्थ्यो । पार्टी फरक पर्दा फरक हुनसक्थ्यो । दार्चुलाबाट एमालेका शीर्ष नेताहरु पनि भेटेर भनेका छौं भन्थे, तर तीन जना बसेर के निर्णय भएको रहेछ भन्दा निर्णय त जिरो , यो राष्ट्रिय महत्वको कुरा हो । अहिले पनि समय छ । यस्तो इस्युमा सबै उभिउ । यो एउटा सांसदको विषय नहोस् । यो पूर्वनिर्णय लत्याएर सुनुवाइ भएन, त्यसको विरुद्धमा जनताको कुरा नसुनेपछि म एक मिनेट मौनधारण गर्छु भन्दै उनले रोष्ट्रममै मौनधारण गरेर विरोध जनाए ।











