राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र प्रसाद लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको पुस्तिका उनले च्यातेका हुन् ।
सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम) रोष्ट्रममा राख्छु उनले भने ।
अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरे । लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताए । यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो’ उनले भने ।

सामान्य लाज पनि नराखेर राज्य स्रोतमाथि मनपरी गरेको लिङ्देनले बताए । यो कति दिन सहेर बस्ने हो भन्ने प्रश्न गर्दै उनले जिल्लाको नाम धेरै राखेको भनेर टिप्पणी हुन्छ भनेर ठेगाना समेत नलेखेर योजनामा बजेट राखिएको भन्दै आक्रोश पोखे ।
‘राज्यस्रोतमाथि यस प्रकारको मनपरी कति दिन मानिहसरुले सहेर बस्ने हो ? , सामान्य लाज पनि नराख्ने यो पढिने देखिने चिज हो भन्ने कुरा पनि नराख्ने ?’ लिङ्देनले भने ।
मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्थामाथि नै संकट पैदा गर्दै लगेको उनले बताए । ‘यो व्यवस्था, यो राज्य प्रणाली काम लाग्दैन भनेर हामीले भनिराखेका छौं । यसलाई पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन आफैं सहयोगी बनुभएको छ’, अध्यक्ष लिङ्देनले भने ।
आफूहरु जनताको मत लिएर आएको उल्लेख गर्दै उनले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सोधे, कसैको क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ? कुन विधि कुन तरिकाले हो ? यो कुरा भन्नुपर्यो, थाहा दिनुपर्यो ?’
मन्त्री महासेठले बजेट बनाउँदा विधि भत्काएको उनले बताए । अर्कोले पनि मन्त्री बन्न ढुकेर बस्नुपर्यो । बनेपछि त्यसै गर्नुपर्यो । तपाईंले देशमा विधि भत्काउने काम गर्नुभएको छ’, उनले भने ।
लिङ्देनले यो व्यवस्था रहेसम्म यस्ता विकृति देखिइरहने बताए । यस्तो बजेटको विरोध निरन्तर हुने उनले स्पष्ट पारे ।











