बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले पदबाट राजीनामा दिएका छन् । बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको बताए ।


नजरुलले राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पठाइएको बताए । आरक्षण विरोधी आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानन्यायाधीश हसन र अपील डिभिजनका न्यायाधीशहरूलाई शनिबार दिउँसो १ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए ।

शनिबार बिहान हजारौँ प्रदर्शनकारी विद्यार्थी प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा पुगेका थिए । उक्त आन्दोलनमा सयौं वकिलहरुको पनि सहभागिता रहेको थियो ।

यसै क्रममा आरक्षण विरोधी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीशलाई फासीवादी भन्दै फुल कोर्ट बैठक रोक्न र राजीनामा दिन अल्टिमेटम दिएका थिए । बंगलादेशमा विगत केही सातादेखि आरक्षण विरोधी आन्दोलन चलिरहेको छ ।












