राष्ट्रपति रामचन्द्र पौडेल बुधबार स्वदेश फर्किएसँगै मन्त्रीपरिषद् पुनर्गठन गर्ने चर्चा चल्न थालेको छ । नाउपाकी अध्यक्ष रंजिता श्रेष्ठले प्रधानमन्त्री सँग भएको सहमती अनुसार आफ्नो पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री बन्ने बताइन् । राष्ट्रपतिज्यू स्वदेश फर्किए लगत्तै सरकारमा हाम्रो पार्टीबाट पर्यटन मन्त्री र एक राज्यमन्त्री हुने गरी प्रधानमन्त्रीसँग मेरो सहमति भइसकेको अध्यक्ष श्रेष्ठले बताएपछि मन्त्री हेरफेर हुने चर्चा चलेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा माओवादी केन्द्रका हितबहादुर तामाङ छन् । तामाङसहित अर्थमन्त्री वर्षमान पुन फागुन २१ गते सरकारमा सहभागी भएका थिए । तर भर्खर सय दिन पुगेका नयाँ मन्त्री फिर्ता बोलाउनुभन्दा पुराना मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन हेरेर फिर्ता बोलाउनुपर्नेमा माओवादी केन्द्रका अधिकांश नेताहरूको जोड छ ।

प्रचण्ड सरकारमा माओवादीबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री रेखा शर्मा र ऊर्जामन्त्री शक्ति बस्नेत छन् । श्रेष्ठ २०७९ पुस १० गते नै मन्त्रीमा नियुक्त भएका हुन् । शर्मा माघ ३ गते र बस्नेत चैत १७ गते मन्त्री नियुक्त भएका थिए । श्रेष्ठ पहिला उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भएका थिए । कांग्रेससँग समीकरण हुँदा उनी गृहमन्त्री भए । शर्मा र बस्नेत सुरुदेखि नै अहिलेकै मन्त्रालय सम्हालिरहेका छन् । माओवादीमा अर्थमन्त्री पुनसहित यी तीनै जना मन्त्रीले माओवादीबाट पटकपटक अवसर पाएका छन् ।
तथापि यीमध्ये ऊर्जामन्त्री बस्नेतको कार्यसम्पादन राम्रो नदेखिएकाले फिर्ता बोलाउनुपर्ने माओवादीभित्र अधिकांशको जोड छ ।सरकारलाई समर्थन गरेका दलहरूबाट मन्त्री बनाउने प्रधानमन्त्रीको कदम सकारात्मक छ । पछिल्लो पटक मन्त्री भएकालाई फिर्ता बोलाउने कि पुराना मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्नेमा पार्टीभित्र विवाद छ’ माओवादीका एक नेताले भने, ऊर्जामन्त्री लगायत केही मन्त्रीका कार्यक्षमता मूल्याङ्कन राम्रो भएन भन्ने धेरैको मत छ । नयाँ मन्त्रीलाई यथावत राखेर कार्यसम्पादन हेरेर पुराना मन्त्रीलाई फिर्ता बोलाउनुपर्छ । महिलाको प्रतिनिधित्व हुने भएकाले अहिले रेखाजीलाई निरन्तरता दिँदा राम्रै हुन्छ भन्ने मत पार्टीमा छ ।

यद्यपि पार्टीको पदाधिकारी बैठकमा यस विषयमा छलफल हुने नेताहरुले बताए । तर सचिव गणेश साहले मन्त्रीमण्डल पुनर्गठनको विषयमा पार्टीको बैठक नबसेकाले अहिले केही भन्न नसकिने धारणा राखेँ । सत्ता समर्थक दललाई सरकारमा ल्याउन प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग सरसल्लाह गरिरहेकाले त्यसको आधारमा पार्टीले निर्णय गर्ने उनले स्पष्ट पारे ।
‘प्रधानमन्त्रीले सत्ता समर्थक दलहरूलाई सरकारमा ल्याउन मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन । नाउपा र जनमत पार्टीलाई सरकारमा ल्याउन एमाले र माओवादीले एक÷एक मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ , साहले भने कसलाई फिर्ता बोलाउने भन्ने विषयमा प्रधानमन्त्रीले एमालेका नेताहरूसँग छलफल गरिरहनु भएको छ । पर्यटनमन्त्री लाई फिर्ता बोलाएर नाउपाकी अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने प्रधानमन्त्रीले तयारी अगाडी बढाएको ति नेताले जानकारी दिए । चैत ७ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको जपाले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष सीके राउतलाई सरकारमा आउन प्रधानमन्त्री, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै उपाध्यक्ष दीपक साहले सोही विषयमा छलफल गर्न आइतबार बैठक राखिएको जानकारी दिए । तर तत्काल सरकारमा जाने सम्भावना कम रहेको उनले स्पष्ट पारे ।सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय लिन आइतबार सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्रीज्यू, एमालेका अध्यक्षज्यूले अध्यक्षकै नेतृत्वमा सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ, उनले भने तर अध्यक्षज्यूले अहिले सरकारमा नजाने भन्नुभएको छ । अध्यक्षमात्र होइन, तत्काल सरकारमा जान पार्टी तयार छैन । बैठकले जाने निर्णय गरेमा अन्य कुनै साथी जानुहुन्छ, अध्यक्षजी जानुहुन्न ।
हाल मधेस प्रदेशमा एमाले, माओवादी लगायत दलहरूको समर्थनमा जनमत पार्टीका सतीशकुमार सिंह मुख्यमन्त्री भएका छन् ।











