पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने इच्छासहित बाङ्ग्लादेशको एउटा वायुसेवा कम्पनीले नेपाल सामु प्रस्ताव गरेपछि त्यसका लागि अनुमति दिने प्रक्रियामा रहेको अधिकारीहरूले जनाएका छन्। हालसम्म एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाङ्ग्लादेशको एउटा निजी वायुसेवा कम्पनीले राजधानी ढाकाबाट हप्ताको चार वटा उडान गर्ने इच्छा देखाएको अधिकारीहरूले जनाएका छन्।

एयर एस्ट्राले नेपाल सरकारलाई पत्र लेखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने प्रस्ताव पेस गरेको हो। एस्ट्रा एयरवेज लिमिटेडले गरेको कर छुटसहितका मागबारे निर्णय लिन अर्थमन्त्रालयमा छलफल भइरहेको नागरिक उड्डयन प्राधिकरणका एक जना अधिकारीले बीबीसीलाई बताएकाछन्।नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य रहेको पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको ज्यानुअरी १, २०२३ मा उद्‌घाटन गरिएको थियो।

वर्षभरिमा आठ वटा चार्टर्डबाहेक अन्य नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि २४ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ ऋण लिएर निर्माण गरिएको सो विमानस्थल ‘सेतो हात्ती’ बन्न सक्ने चिन्ता कतिपयले व्यक्त गर्ने गरेको पाइन्छ।

बाङ्ग्लादेशी वायुसेवा साँच्चिकै आउँला ?

पोखरामा उडान गर्ने इच्छा देखाएको एस्ट्रा एयर बाङ्ग्लादेशको उड्डयन बजारको एउटा नयाँ खेलाडी हो। सो एअरवेजका प्रमुख कार्यकारीले मार्च महिनामा नेपाल सरकारको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयका सचिवलाई लेखेको एउटा पत्रमा एस्ट्रा एयरले ढाका-पोखरा-ढोका र ढाका-काठमाण्डू-ढाका रुटको सम्भाव्यता विचार गरिरहेको जनाएको थियो। सो पत्रमा उसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न आफू अति नै इच्छुक रहेको भन्दै आफूलाई दिन सक्ने छुटहरूबारे जानकारी उपलब्ध गराउन उसले अनुरोध गरेको थियो।त्यसपछि दुवै पक्ष सम्पर्कमा रहेको र सो वायु सेवाले ढाका-पोखरा-ढाकामा हप्ताको चार वटा उडानहरू गर्ने इच्छा व्यक्त गरेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।

उनले भने, “हाम्रो यहाँको बुद्ध एयर जस्तै एटीआर विमान चलाउने उक्त बाङ्ग्लादेशी कम्पनी एयर एस्ट्रामार्फत् पोखरा र काठमाण्डूमा उडान गर्नका लागि उनीहरूले नेपालमा जनरल सेल्स एजेन्ट नियुक्त गरिसकेका छन्। बाङ्ग्लादेशसँग अहिले नेपाल सरकारको काठमाण्डू विमानस्थलमा र काठमाण्डू विमानस्थलबाट मात्रै उडान गर्नसक्ने खालको सम्झौता छ। बाङ्ग्लादेशले एस्ट्रा एयरलाइन्सले पोखरा उडान गर्न चाहेको छ भनेर अनुमति मागेको छ।”

उनले उक्त पत्रको नेपाल सरकारले जबाफ दिइनसकेको भन्दै ‘अनुमति दिने विषय प्रक्रियामा’ रहेको बताए।उक्त वायुसेवाले एटीआरमार्फत् उडान गर्ने भएकाले आफूहरूले पोखरालाई जोड दिइरहेको अधिकारीहरूले बताएका छन्। नेपाल सरकारले पोखरामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न ल्यान्डिङ र पार्किङ शुल्क लगायतमा छुट दिने नीति लिएको छ।

सूचना अधिकारी भूल भन्छन्, “आर्थिक रूपमा सम्भाव्य नहुन्जेलसम्म उहाँहरूले करमा छुट माग्नुभएको छ। अवतरण र पार्किङमा हामीले छुट दिइरहेका नै छौँ। कर छुट गरेर फिर्ता लाने विषय प्राधिकरण र पर्यटन मन्त्रालयको मात्रै विषय नभएकाले अर्थ मन्त्रालयको पनि निर्णय चाहिन्छ। एउटा फाइल अर्थ मन्त्रालयमा छ। अनुमति दिने विषय प्रक्रियामा छ र त्यो सम्पन्न भएपछि नियमित उडान सुरु हुन्छ।”

यो वायुसेवा कस्तो हो ?
एयर एस्ट्राको वेबसाइट अनुसार उक्त वायु सेवा बाङ्ग्लादेशको जोइन्ट स्टक कम्पनीजमा जुलाई सन् २०२१ मा समावेश भएको थियो। यात्रु र कार्गो सेवा प्रदान गर्ने लक्ष्य लिएको सो वायुसेवाले बाङ्ग्लादेशलाई विश्वसँग जोड्ने लक्ष्य लिएको उसले जनाएको छ। आफ्नो वेबसाइटमा विमानको सङ्ख्या १० पुर्‍याउने लक्ष्य भएको बताएको सो वायुसेवाले नेपाललाई पठाएको पत्रमा भने हाल आफूसँग ३ वटा एटीआर ७२-६०० विमान रहेको जनाएको छ।

उसले सन् २०२४ सम्म त्यसलाई बढाएर ६ वटा पुर्‍याउने र अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्ने जनाएको छ। हाल सो वायुसेवाले बाङ्ग्लादेशमा मात्रै उडान गर्दै आएको छ। उसले देशभित्र पनि उडानहरू विस्तार गर्ने लक्ष्य राखेका विवरणहरूमा जनाइएको छ।हाल नेपालबाट हिमालय एअरलाइन्सले बाङ्ग्लादेशसम्म उडान गर्ने गर्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय