२४ माघ २०८१, सोलुखुम्बु
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ छिर्दी घाटस्थित दूधकोशी नदीमा पक्की मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ । माप्यदुधकोशी गाउँपालिका–१ जुभिङ हुँदै खुम्बुपासाङल्हामु गाउँपालिकासम्म जोड्ने ५५ मिटर लामो र ११ मिटर चौडा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको हो।

सडक डिभिजन कार्यालय हर्कपुरमार्फत विनियोजित बजेटबाट निर्माण भएको यो पुल स्थानीय बासिन्दा तथा खुम्बु क्षेत्रमा आउने देशी-विदेशी पर्यटकका लागि महत्वपूर्ण हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले पुल निर्माण सम्पन्न भएकोमा सामाजिक संजाल मार्फत खुशी व्यक्त गर्दै यसले स्थानीय यातायात व्यवस्थापनमा सहजता ल्याउने बताए ।
नगरप्रमुख शेर्पाले पुल निर्माणका लागि निरन्तर सहयोग गर्ने सबैलाई धन्यवाद दिए । २०७५ सालमा महादेव खिम्ती हिराचन जेभीले ७ करोड ६ लाख रुपैयाँमा निर्माण गर्नेगरी सम्झौता गरेको यो पुल पछिल्लो समय निर्माण सम्पन्न गर्न नगरपालिकाले विशेष पहल गरेको थियो ।
यस पुलले सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकाका स्थानीयवासीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नुका साथै पर्यटन प्रवर्दनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ।











