११ माघ २०८१, सोलुखुम्बु
सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाले प्राविधिक सहायक तर्फ अन्तर्वाता भएको लामो समय बितिसक्दा पनि नतिजा प्रकाशित नगरेपछि परीक्षामा सहभागीले असन्तुष्टि व्यक्त गरेका छन् ।


गत पौष १२ गते प्राविधिक सहायक तर्फ एकजना करारमा आवश्यक भएको भन्दै सूचना निकालेको पालिकाले पौष २६ गते सबै मापदण्ड पुरा गरेको भन्दै ४ जनाको नाम संक्षिप्त सूची भनेर प्रकाशित गरेको थियो ।

सो सूची जारी गरेपछि गाउँपालिकाले माघ ७ गते बिहान ८ बजे परीक्षा लिएको थियो । सो परीक्षाको नतिजा अझै सार्वजनिक नगरेपछि विभिन्न आशंका बढेको छ । आफ्ना मान्छे नपरेपछि नजिता सार्वजनिक नगरेको हुनसक्ने परीक्षामा सहभागी एक परीक्षार्थिले बताएका छन् । नत्र २-३ जनाको चेक गर्न यत्रो समय किन लाग्यो यस अघिका परीक्षामा तत्काल नतिजा आउने गरेको भएपनि यो पटक रोक्नु भनेको केही न केही गडबडी भएरै हो भन्दै उनले षडयन्त्र गर्न खोजेको भए न्यायिक बाटो रोज्न बाध्य हुने बताएका छन् ।

लिखुपिकेमा करारमा कर्मचारी राख्दा , शिक्षक राख्दा अनि ठेक्कापट्टामा समेत सेटिङ र आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । जनप्रतिनिधि जसरी पनि हाबी हुन खोज्दा कर्मचारीहरु समस्यामा पर्ने गरेको पालिका मातहतका कर्मचारीले नै गुनासो गर्ने गरेका छन। यसअघि आफूलाई अन्याय पूर्ण ढङले सरुवा गरेको भन्दै शिक्षिका रेणु बस्नेतले अदालतमा हालेको मुद्दा पालिकाले हारेको थियो । यसले पनि पालिकामा समस्या छ भन्ने कुराको संकेत गर्छ ।











