माघ २०८१, मोरङ। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा पनि २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने उनले बताए । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गरे ।

गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उनले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरुलाई ठूलै जवाफ दिएको बताए । ‘बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुवैमा पहिलो पार्टी बनाएको छ’– ‘उनले भने, ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’ उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताए । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उनले गराए ।

उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए । देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे । आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै दाहालले आपत्ति जनाए ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको बताए । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताए । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढालेको प्रचण्डको दाबी गरे ।  प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले नभएर विचौलियाहरुले चलाइरहेको आरोप पनि लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय