पौष १७, काठमाडौ।
जागरुक युवा अभियान नेपालको आयोजनामा आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘ नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरुले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न वि.सं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

टोपी दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्ष अगाडि देखि जनवरी १ तारिखका दिन राष्ट्रिय टोपी दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्ध जस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको देखिएको छ ।

नेपाली युवाले विर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइए पछि युवाहरु जागरुक भएर यो अभियान शुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे लगायत सहभागी हुने भएका छन ।
रासस











