पौष १, काठमाडौ।
काठमाडौं महानगरका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । सिंहको सोमबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो । उनले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए ।


पूर्वप्रमुख सिंहको असामियक निधन प्रति काठमाडौँ महानगरपालिका परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । सिंह प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आज पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा दिइएको महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
कांग्रेस नेता समेत रहेका सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिनेछ । 











