मंसिर १५, काठमाडौ।
प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले मानव तस्करीका आरोपित एमाले नेता एवं कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिललाई थुन्नुपर्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले नेता अधिकारीसँगै जापान गएकाहरु विरुद्ध मुद्दा दायर हुने र उनलाई उन्मुक्ति दिनुले यो काम दवाबमा भएको स्पष्ट भएको बताए ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिललाई पक्राउ गरी थुनेर कसको दवाबमा यो भएको भन्ने कुरा बाहिर ल्याउनुपर्ने उनले धारणा राखे । कोशी प्रदेशका पूर्व मन्त्री अधिकारीलाई मानव तस्करीको आरोपमा उन्मुक्ति दिनु दण्डहीनताको पराकाष्ट भएको उनको टिप्पणी छ ।

‘आज विधिको शासन छ ? विधिको शासन भएको भए मलाई बताउनुस्, एउटै घटनामा अरुलाई मुद्दा चल्ने, कुनै पार्टीको नेता, मन्त्री वा प्रदेश सभा सदस्यलाई मुद्दा नचल्ने । कहाँबाट अधिकार पायो त्यो सरकारी वकिलले ? त्यो सरकारी वकिललाई थुन्नु पर्छ कि पर्दैन ? त्यसलाई थुन्नुपर्छ । जसले त्यो निर्णय गरेको छ, जसको दवाबमा गर्यो । निर्णय गर्नेलाई थुन्नुपर्छ । त्यसलाई कारबाही गर्नुपर्छ । अहिले सुशासनको नाममा दण्डहीनताको पराकाष्ट भइरहेको छ,’– उनले आरोप लगाए ।
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी सँग असम्बन्धित मान्छेहरु जापानको एक कार्यक्रममा गएको घटना बाहिरिएको थियो । तत्कालीन मन्त्री अधिकारीसँग जापान पुगेका ३ जनाले कोशी प्रदेश सरकारका कानुन मन्त्रालयको परिचयपत्र दुरुपयोग गरेका थिए । जापानको अध्यागमन विभागले तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई नै डिपोर्ट गरेको थियो ।
चर्को आलोचनापछि गत कार्तिक २५ गते पक्राउ गरेका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । पूर्वमन्त्री अधिकारी जोडिएको उक्त घटनामा ११ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।











