मंसिर ८, काठमाडौ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुन लागेको आफ्नो चीन भ्रमणसम्बन्धी टिप्पणीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीको दरबारमार्गमा एमालेले गरेको ‘जागरण सभा’ मा चीन भ्रमणको विषयमा आलोचना गर्नेलाई ओलीले ‘वाहियात र कायर’ भएको टिप्पणी गरेका हुन् ।


प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणको रूपमा चीन जान लागेका छन् । धेरैजसो नेपाली प्रधानमन्त्रीले भारतबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेको विगत भएकाले अहिले ओलीले गर्न लागेको चीन भ्रमणको विषयमा टीकाटिप्पणी भएको हो । सभामा ओलीले नेपालका प्रधानमन्त्रीले कुन देशको भ्रमण गर्ने भन्ने कुनै नीति नभएको उल्लेख गर्दै भ्रमणको विषयमा भएका टिप्पणीप्रति असन्तुष्टि जनाए ।

कतिले के के न व्यवसाय भेट्टाएजस्तो गरेर पहिले कता जानुपर्ने ? कता गयो , अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ? ‘धर्मशास्त्रमा लेख्या छ कि ? संविधानमा लेख्या छ कि ? कानुनमा लेख्या छ कि ? संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि ? कहाँ चाहिँ बडा परिपक्वता भेट्टाउनुहुन्छ ? यी वाहियात, कायर कुरा हुन् ।’ उनले भने।
छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न केन्द्रित हुने उल्लेख गर्दै उनले आफ्नो चीन भ्रमण सफल हुने दाबीसमेत गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ बैंकबाट लिएको ऋण मिनाहाको चर्चा चलिरहेका बेला सरकारले सकेसम्म कतैको ऋण लिन नचाहेको ओलीले बताए । सबैको राय र सुझावका आधारमा संविधान संशोधन गरिने उनले स्पष्ट पारे ।











