मंसिर ३, काठमाडौ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।


पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकान ढुंगाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख भएका थिए ।

यसैगरी उनी विसं २०५१ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उद्दले सक्रिय भूमिका निर्वाह गरेका थिए । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगानाले पुर्याएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।











