कुल बहादुर बस्नेत ,
असोज २४, काठमाडौं ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाहेक तराई मधेस केन्द्रित सबै दलहरू मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएका छन् ।
डा.सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरीसकेका छन् ।

लोसपाले तयारी नपुगेको भन्दै उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता नै गराएको छैन । लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले आफूहरूको तयारी नपुगेको कारण दल दर्ता नगराएको बताए ।
लोसपाकै एक नेताका अनुसार मधेसका थोरै स्थानीय तह र अधिकांश पहाडका स्थानीय तहमा चुनाव हुने भएकाले पहाडमा चुनाव हार्नुभन्दा भागै नलिने निष्कर्षसहित लोसपालेदल दर्ता नगराएको हो ।

‘मंसिर–१६ मा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ पदमा उपनिर्वाचन हुँदैछ ।
मोरङ र दैलेखमा दुईटा गाउँपालिकाका अध्यक्षको चुनाव हुँदैछ । काठमाडौँ जिल्लामा कीर्तिपुर नगरपालिका मेयरमा पनि चुनाव हुनेछ भने दोलखा, हुम्ला, बाजुरा, जाजरकोट, रुकुमपूर्वमा उपाध्यक्ष पदमा चुनाव हुनेछ ।

तेह्रथुम, ओखलढुङ्गा, उदयपुर–२, सप्तरी, धनुषा, रौतहट–३, काठमाडौँ–३, नुवाकोट, गुल्मी, रोल्पा, बर्दिया, रुकुम, डोटी, कञ्चनपुर, झापा, सुनसरी, गोरखा, दैलेख, डोल्पा, बझाङ, महोत्तरी, मकवानपुर, कालिकोट, जाजरकोटमा वडाअध्यक्षको उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन पनि हुनेछ ।

मधेस प्रदेशका विभिन्न जिल्लामा कांग्रेसले जितेका चार, माओवादी र लोसपाको एक–एक वटा वडा खाली छन् । रौतहटको ईशनाथ नागरपालिका वडा नम्बर–७ मा लोसपाले अध्यक्ष जितेको स्थानमा उपचुनाव हुन लागेको छ । तर यसपटक लोसपाले भाग नलिने भएकाले उक्त स्थानमा कसले बाजी मार्ला भन्ने स्थानीयमा चासो बढेको छ ।











