असोज ८, २०८१ काठमाडौं।

गोर्खा मिडिया नेटवर्क मार्फत सहकारीको बचत रकम अपचलनको आरोपमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेसंगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ठूलो असर देखिएको छ । आइतबार काठमाडौंको शंखमूल क्षेत्रबाट जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछाने सहित पार्टीपंक्ति आत्तिएको घटनाक्रमहरुबाट बुझ्न सकिन्छ ।

जोशी पक्राउ पर्नासाथ रास्वपाका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । काठमाडौंमा उपलब्ध नेताहरुको बैठक नै बसेर रवि लामिछाने पक्राउ पर्न सक्नेबारे छलफल गरेका थिए । स्रोतका अनुसार रवि लामिछानेलाई पक्राउ गर्नकै निम्ति छविलाललाई समातिएको निष्कर्ष बैठकले निकाल्यो । छविलाल जोशी समातेर बयान लिएपछि त्यही बयान रवि लामिछाने पक्राउ पर्ने आधार बन्छ । सरकारले यही षड्यन्त्र अन्तर्गत छविलाल समातेका हुन् भन्ने निष्कर्ष बैठकको भएको रास्वपा स्रोतले बतायो ।

तर गोर्खा मिडिया नेटवर्क मार्फत सहकारी बचत रकम अपचलनमा गितेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी र कुमार रम्तेलसँगै रवि लामिछाने पनि संलग्न रहेको संसदीय समितिले प्रतिवेदन तयार पारेकाले उनी उच्च निगरानीमा छन् । जबकि गोर्खा मिडिया नेटवर्क मार्फत सहकारी रकम अपचलनमा रवि लामिछाने सहितका व्यक्तिहरु संलग्न रहेकाले प्रचलित कानुन बमोजिम कारबाही गर्नु भन्ने संसदीय समितिको निष्कर्षमा रास्वपाकै सांसदको समेत हस्ताक्षर छ । संसदीय छानबिन समितिको सदस्य रहेका रास्वपा सांसद शिशिर खनालले उक्त प्रतिवेदनमा फरक मत राखेका छैनन् ।

संसदबाट पाएको उक्त प्रतिवेदन सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै प्रतिवादमा उत्रने निर्णय रास्वपाले लिएको छ । अर्थात् आइतबारसम्म रास्वपाका नेताहरुमा रहेको निष्कर्ष र अभिव्यक्त भाषा परिवर्तन नभए यो पार्टी विधिको शासन र विद्यमान राज्य प्रणाली अस्वीकार गर्ने पक्षमा रहेको प्रष्ट हुन्छ ।

किनकि कुनै पनि घटनाको अनुसन्धानमा प्रहरीले अपनाउने प्रक्रियाको प्रतिवादमा कार्यकर्ता उतार्न थाल्ने हो भने विधिको शासनले काम गर्न सक्दैन । यद्यपि रास्वपाका नेता गणेश कार्की भने आफ्ना सभापतिले बोलेको कुरालाई राज्यको अनादर गरेको र विधिको शासन विरुद्ध उभिएको रुपमा बुझ्न नहुने दाबी गर्छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय