असोज ६, २०८१ काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रणनीतिक रूपमा आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आन्दोलन परिचालन समितिले आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण असोज ८ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गर्न लागेको हो । तिहार पछि काठमाडौँ केन्द्रित आन्दोलनका लागि देशभरका वडाबाट २० हजार युवा दस्ता तयार गर्ने क्रममा राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा राप्रपाले विशेष प्रशिक्षण आयोजना गर्न लागेको हो ।

देशमा चौतर्फी संकट र समस्या छ । देशको २० प्रतिशत जनसंख्या देशबाहिर छ, दैनिक रूपमा २६०० नेपाली देशबाहिर जान्छन् । यस्तो कहालीलाग्दो अवस्थाको समाधानका लागि राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको हो । पार्टीको घोषित नीतिअनुरूप आन्दोलन जारी राखेको हो, यसै सिलसिलामा आन्दोलन केन्द्रित प्रशिक्षण आयोजना गरिएको 
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।
प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले देशका ७७ जिल्लामा गएर युवाहरूका लागि प्रशिक्षण सञ्चालन गर्नेछन् । पार्टी महामन्त्री राणाका अनुसार जिल्ला स्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गरिनेछ । केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरिका ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जना जुझारु युवा तयार गर्ने रणनीतिमा राप्रपा अघि बढेको हो ।

राजसंस्था, सनातन हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राप्रपाले सडक संघर्ष जारी राखेको छ ।
देशभरिबाट चुनिएका युवाहरू सहभागी गराएर काठमाडौँ केन्द्रित आन्दोलनका लागि राप्रपाले युवा दस्ता खडा गर्न लागेको हो । जिल्लामा खटिने प्रशिक्षकको टोलीमा राजनीतिक र भूपु सुरक्षाकर्मी प्रशिक्षकहरू पनि सहभागीता हुनेछ ।












