असोज ५, २०८१ काभ्रे।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबीचको सत्ता सहकार्यले नागरिकमा खुशी छाएको बताएका छन् । काभ्रेको धुलिखेलमा शनिबार बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश प्रवाह भएको बताएका हुन् ।


सधैँ कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर सरकार बनेपछी देशभर एउटा सकारात्मक सन्देश दिएको छ’, उनले भने । पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेसका नेता डा. शशांक कोइरालाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सञ्चार क्षेत्रको विकास कांग्रेसका नीति र नेतृत्वका कारण सम्भव भएको दाबी गरे ।











