नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ओली सरकारमा सहभागी हुने निर्णय गर्दै पार्टीबाट मन्त्री पठाउन मापदण्डसमेत बनाएको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका आधारमा समावेशीता तथा प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ।

कांग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ अनुसार शुक्रबार नै प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने तयारी गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथको कार्यक्रम भने सोमबार बिहान ११ बजेका लागि राखिएको छ

कांग्रेस र एमालेले सरकारमा पठाउने मन्त्रीहरू निश्चित गरिसकेका छैनन्। एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै दिएको छ। कांग्रेस र एमालेले बराबर हैसियतमा सरकारमा सहभागीता हुने बताइरहेका छन्। साना दलहरूलाई पनि सरकारमा सहभागी गराउने भएकोले कांग्रेस र एमालेले बढीमा ९/९ मन्त्रालय लिने सम्भावना छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान मन्त्रीहरूको नाम ओलीलाई दिने तयारी गरेका छन्। उनको सचिवालय स्रोतले दिएको जानकारी अनुसार सोमबार बिहान मात्रै कांग्रेसबाट को-को सरकारमा मन्त्रीका रूपमा सहभागी हुन्छन् भन्ने यकिन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय