राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) ले शुक्रबार संसदमा लिने बिश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संसदिय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको अस्थिर व्यवहारले देश समस्याको दलदलमा फसेको कारण उहाँलाई बिश्वास गर्न नसकिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।


हामीले उहाँ लाई हिजो बिश्वास गरेकै हो । उहाँ रुपान्तरित भएर देश र जनताको भावना अनुसार अघि बढने भए ठिकै छ भनेर सरकारमै सहभागी भएर समर्थन गरेको हो । तर उहाँमा उपयोग गर्ने अनि सधैं अस्थिरतामा खेल्ने बानी रैछ लिङ्देनले भने , अब देशले थप अस्थिरता व्यहोर्न नसक्ने हुँदा राप्रपाको माग समेटिने गरि नवीन समझदारी गर्नुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे ।

काङ्ग्रेस-एमाले गठबन्धनमा राप्रपा सहभागी हुन्छ कि ? भन्ने प्रश्नमा उनले दुई ठुला दलले गठबन्धन के का लागि भनेर औचित्य साबित गर्नुपर्ने , संविधान संशोधनमा कसरी जाने हो त्यो हेर्न बाकी रहेकोले सरकारका बिषयमा अहिले बोल्दा छिटो हुने बताउदै राप्रपाले उपयुक्त समयमा उपयुक्त निर्णय गरेर अगाडि बढने भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरे ।












