प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ असारमा विश्वासको मत लिने जानकारी संघीय संसद् सचिवालयलाई गराएका छन् । संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै प्रचण्डले आज पत्र लेख्दै २८ असारमा विश्वासको मत लिने जानकारी गराएका हुन् ।


जेठ ७ गते विश्वासको मत लिँदा प्रचण्डको पक्षमा १५७ सांसदले मत दिएका थिए । तर, अहिले भने उनलाई विश्वासको मत दिएको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । एमालेको संसद्मा ७९ मत छ । प्रचण्डले पाएको १५७ मतमा ७९ मत घटाउँदा ७८ मत बाँकी रहन्छ ।
त्यसबाहेक अन्य दलले औपचारिक रूपमा प्रचण्डको साथ त छोडेका छैनन् । तर, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सम्भवतः आजभोलिनै प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेको छ ।
पार्टीका महासचिव मोहम्मद इस्तिह्याक राईले बिहिबार नै सार्वजनिक रूपमा प्रचण्डलाई दिएको समर्थन पार्टीले फिर्ता लिने र सरकारबाट बाहिरिने बताइसकेका छन् । जसपा त्यही पार्टी हो, जसलाई प्रचण्ड सरकार टिकाउनकै लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर बनाइएको थियो । राईले समर्थन फिर्ता लिए भने ७८ सिटमा पनि प्रचण्डको ७ घटेर ७१ मा आउँछ ।
त्यसबेला प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा, एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पाटी र केही स्वतन्त्र सांसदले पनि मत दिएका थिए ।
विपक्षमा मतदान गरेका नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी विपक्षमै छन् ।
जनमत पार्टीले मधेसमा आफू नेतृत्वको सरकार टिकाउन साथ दिएमा केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बताएको छ । कांग्रेस-एमाले गठबन्धनले अन्य ६ प्रदेश भागबण्डा गर्दा मधेस प्रदेश छोडेकाले जनमतको मधेसमा सत्ता टिक्ने र केन्द्रमा नयाँ बन्ने गठबन्धनलाई समर्थन गर्ने सम्भावना देखिन्छ । जनमतका ६ सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर नयाँ संसदीय दलको नेता बनाएको छ । चौधरीले प्रचण्डलाई सघाएको आरोपमा हटाइएको हो । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाईै भेटेरै नयाँ गठबन्धनलाई सहयोग गर्ने बताइसकेका छन् । नाउपाका ४ सांसद छन ।











