प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस रुष्ट बन्दै जानुका पछाडि पर्याप्त पृष्ठभूमि छन । चितवनबाट गोरखा चुनाव क्षेत्र सारेका प्रचण्डले कांग्रेस र बाबुराम भट्टराई दुवैको साथमा प्रतिनिधिसभाको यात्रा तय गरेका थिए । २०७९ मंसिर ४ को चुनाव जितेपछि पुस १० मा प्रधानमन्त्री बन्न उनले एमालेको साथ लिए । राष्ट्रपति चुनावमा कांग्रेसलाई साथ दिएपछि २०७९ फागुन १५ मा नै एमाले सरकारबाट बाहिरियो । फेरि एक वर्षपछि २१ फागुन २०८० मा एमालेसँगै मिलेर सरकार बनाए । यसरी प्रधानमन्त्री प्रचण्डले चार महिनाअघि नयाँ सत्ता समीकरण बनाएसँगै कांग्रेस रुष्ट बनेको थियो । त्यसको खुला प्रकटीकरण गरे, पार्टी सभापति शेरबहादुर देउवाका अति निकट मानिएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले , फागुन २४ मा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै लेखकले संसदमा भनेका थिए, म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटी सोच्नुस् यी जम्मै धोका पाएकाहरु तपाईं विरुद्ध एक दिन एक ठाउँमा उभिए कहाँ पुग्नुहोला ? एमालेको समर्थन लिएर प्रचण्डले आफ्नो प्रधानमन्त्रीकाल अरु थप गरेको तीन दिनपछि कांग्रेस संस्थापनका नेताबाट व्यक्त विचारले स्पष्ट संकेत गरेको थियो, कांग्रेस–एमाले कुनै पनि समय सत्ताका लागि एक ठाउँ आउन सक्छन् ।नभन्दै, चार महिनापछि यी दुई ठूला दल एकठाउँमा आएका छन् ।
त्यसका लागि कांग्रेसले त्यतिबेलैदेखि तयारी गरेको थियो । सरकार निर्माणका लागि नभई संविधान संशोधनका लागि एमालेसँग सहकार्य हुनसक्ने आवाज कांग्रेसमा उठ्दै आएको थियो । विशेषगरी महामन्त्री गगन थापाले संविधान संशोधनको शर्तमा सरकार बाहिर रहेर सहकार्य हुनसक्ने बताउँदै आएका थिए ।
नेता डा. शेखर कोइरालाले एमालेसँग सत्ता सहकार्य असम्भव नभएको विचार सार्वजनिक मञ्चमा व्यक्त गर्दै आएका थिए । एमालेसँग सत्ता सहकार्य गरेर अघि बढ्नुपर्ने मत पार्टी बैठकमा प्रवेश गर्यो । सत्ता बहिर्गमन पछि भएको शीर्ष तहका नेताको बैठकमा नेता कोइराला र अर्जुननरसिंह केसीले एमालेसँग सत्ता सहकार्य गर्न सकिने राय व्यक्त गरेका थिए । सार्वजनिक रुपमा बोलेर परिणाम आउन नसक्ने बैठकको विश्लेषण अनुसार भित्री गृहकार्य कांग्रेसले सुरु गर्यो । कांग्रेसका नेताहरुका अनुसार त्यसलगत्तै सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद सुरु गरेका थिए ।


देउवाका दुई विश्वासपात्र रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीलाई ती संवादहरु बारे जानकारी थियो । साथै, देउवाले लेखक र कार्कीलाई एमालेसँग निरन्तर संवाद र सम्पर्कमा रहिरहन निर्देशन पनि दिएका थिए ।
अघिल्लो साता बुधबार प्रचण्डले देउवालाई राष्ट्रिय सरकारका लागि प्रस्ताव गरेका थिए । उच्च राजनीतिक स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणबाट फर्केलगत्तै प्रचण्डको मन बदलिन थालेको थियो । उनी फेरि विनाकारण राष्ट्रिय सहमतिको सरकारको कुरा गर्न थालेका थिए ।

एमालेका एक शीर्षस्थ नेताले बताए अनुसार राष्ट्रिय सहमतिको सरकारका नाममा प्रचण्ड फेरि कांग्रेससँग नजिकिन चाहन्थे, अनि एमालेलाई साइजमा राख्न ।उपेक्षामा पर्दै गएको अनुभूति बोक्दै एमाले अन्ततः गठबन्धनबाट बाहिरिने छ भन्ने प्रचण्डको बुझाइका पछाडि भूराजनीतिक फ्याक्टरले प्रष्ट काम गरेको थियो । देउवाले प्रचण्डको अस्थिर मनोकांक्षालाई जति बुझ्दै गए, उता एमाले पनि अब सहकार्य लम्बिन सम्भव छैन भन्ने बुझाइमा रह्यो ।
‘हामी प्रचण्डलाई त्यो मौका दिन चाहँदैनथ्यौं, तर हामीभन्दा पहिले कांग्रेस आफैंले यो कुरा बुझ्यो’, ती नेताले भने ।
त्यससँगै देउवा–ओली चरणवद्ध संवादको ढोका खुल्यो ।
दुई नेताहरुबीच संवाद भइरहे पनि १५ असार अघिका भेटघाटको सूचना कहिंकतै चुहिएन । असार १५ गते (शनिबार) पत्नी आरजु लाई सँगै लिएर देउवा ओलीलाई भेट्न बालकोट पुगे । सबै रोपाइँ दिवसमा व्यस्त रहदा देउवा ओलि वार्ता चलिरहेको थियो ।
देउवा–ओली भेटले राष्ट्रिय राजनीतिलाई तरंगित बनायो । सत्ता समीकरण परिवर्तन हुने निश्चियमा पुगेका देउवाले पार्टीमा औपचारिक जानकारी शीर्ष तहलाई सोमबार गराए । यद्यपि, विकसित घटनाक्रम बारे देउवाले दिएको जानकारीबारे कुनै पनि नेताले बाहिर ल्याउन चाहेनन् ।
देउवाले सोमबार शीर्ष बैठकमा दिएको जानकारी बारे कांग्रेसका शीर्ष नेता भन्छन्, ‘ओली सकारात्मक छन् । नयाँ सरकार बन्ने अवस्था बनिरहेको छ । अरु के हुन्छ, तपाईहरुलाई जानकारी गराउँछु ।’
नेताहरुका अनुसार देउवा सोमबारको शीर्ष नेताको जतिसक्दो छिटो टुंग्याउने पक्षमा थिए । एमालेसँग सोमबार राति हुन लागेको सहमतिका लागि थप गृहकार्य गर्नका लागि देउवाले बैठक छिटो टुंग्याए ।

त्यसका लागि पदाधिकारी बैठक चल्दाचल्दै प्रमुख सचेतक लेखकलाई एमाले महासचिव शंकर पोखरेललाई भेट्न पठाए । सोमबार राति अबेर सहमतिमा अन्तिम टुंगो लगाउँदा देउवाले लेखक, कार्की र आरजु राणालाई सँगै लगे ।
सिंगो प्रक्रियामा देउवाले कहीँकतै शीर्ष तहका नेतालाई सहभागी गराएनन् । सत्ता समीकरण र अन्य दलका शीर्ष नेताको बैठकमा देउवाले नछुटाउने व्यक्ति उपसभापति पूर्णबहादुर खड्का थिए । तर, यो समग्र प्रक्रियामा उपसभापति पूर्णबहादुर खड्कालाई समेत देउवाले अलग्गै राखे ।
खड्का मात्रै होइन, दुई महामन्त्रीसहित कुनै पदाधिकारी नयाँ सत्ता समीकरणका छलफलमा देउवाले खटाएनन्रसहभागी गराएनन् ।
महत्वपूर्ण बैठकमा देउवाले खटाउने गरेका नेता कृष्णप्रसाद सिटौलालाई पनि यो प्रकृयामा भूमिका दिएनन् ।

जबकि, कांग्रेसले प्रधानमन्त्री बनाउन तयार भएका एमाले अध्यक्ष ओलीले महासचिव शंकर पोखरेललाई खटाएका थिए । पार्टी भित्रको अर्को पक्षलाई बेवास्ता गरेको आरोप खेप्दै आएका देउवाले आफ्नै समूहका शीर्ष नेतालाई समेत महत्व दिएनन् ।












