नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन नेकपा एमालेले बहिष्कार गरेको छ । एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोहीपनि नेता नगएका हुन् ।अहिले प्रज्ञा भवन कमलादीमा उद्घाटन समारोह चलिरहेको छ । नेकपा एसले एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको थियो । अहिले एउटै सत्ता समीकरणमा भए पनि ओलीले कसैलाई पनि कार्यक्रममा नपठाएको बुझिएको छ ।


एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेताहरुको कार्यव्यस्तताको कारणले कार्यक्रममा सहभागी नभएको बताए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी भएका छन् । नेकपा एसका अध्यक्ष नेपालले ओलीका कारण सत्तामा बस्न अफ्ठेरो हुने गरेको टिप्पणी लाई पनि आजको घटनाले पुष्टि गरेको छ । यो सगै ओली नेपालको तिक्तता फेरी एकपटक सतहमै देखा परेको हो ।











