
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आह्वानमा शुक्रबार पनि माइतीघर-बबरमहल क्षेत्रमा जनप्रदर्शन भएको छ। सुवेदी नेतृत्वको समितिले रत्नपार्कमा बिहीबार प्रदर्शन गर्दै ‘जनआन्दोलन’ सुरू गरेको बताएको थियो। शुक्रबार पनि प्रदर्शन जारी छ।
सुवेदी नेतृत्वले गरेको ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल शिवसेना नेपाल, विश्वहिन्दु महासंघ लगायत दल तथा समूहहरूले समर्थन जनाएका छन्।संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, केशर बहादुर बिष्ट लगायत आन्दोलनमा उपस्थित छन्। राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना, संघीयता खारेजी लगायत एजेन्डामा राजावादीहरूले प्रदर्शन लाई निरन्तरता दिएका छन्।

चैत्र १५ को आन्दोलन हिंसात्मक बनेपछि चौतर्फी आलोचना खेपेका राजावादीहरुको यो प्रदर्शन भने शान्तिपूर्ण रहेको छ । शनिबार भने दरबारमार्ग स्थित महेन्द्र शालिकमा प्रदर्शन गर्ने तयारी गरेका राजावादीहरु लाई सरकारले निषेधज्ञाले रोक्न खेजेको छ ।